दैलेख : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दैलेखमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ सम्पन्न निर्वाचनमा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले प्राप्त गरेको समानुपातिक मतका आधारमा यहाँका दुई निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली काँग्रेस दुई दलबिच दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको हो ।
यस अघि सम्पन्न निर्वाचनमा समानुपातिक मतमा (एमाले) पहिलो स्थानमा छ । (एमाले)ले दैलेख–१ प्रतिनिधि सभातर्फ समानुपातिकमा १६ हजार ३ सय १३ मत प्राप्त गरेको थियो । काँग्रेसले १५ हजार ८ सय ३७ पाएको हो । २०७९ को निर्वाचनमा दैलेख–१ मा समानुपातिकतर्फ एमाले भन्दा काँग्रेस चार सय ७६ मतले पछि छ । २०७९ मा सम्पन्न निर्वाचनमा एमाले÷काँग्रेसले प्राप्त गरेको समानुपातिक मत हेर्दा आगामी निर्वाचनमा समेत यहाँ दुई दलबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
दैलेख–२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा समेत समानुपातिकतर्फ मत पाउनेमा (एमाले) पहिलो दल हो । यस क्षेत्रमा तत्कालीन निर्वाचनमा (एमाले)ले १७ हजार ३ सय १७ मत प्राप्त गरेको थियो । काँग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिकमा १५ हजार ५ सय ४ मत पाएको हो । २०७९ मा सम्पन्न आम निर्वाचनमा दैलेख–२ मा समानुपातिक मततर्फ एमाले भन्दा काँग्रेस एक हजार ८ सय १३ मतले पछि छ ।
तत्कालीन निर्वाचनमा एमाले÷काँग्रेसले प्राप्त गरेको समानुपातिक मतको तुलनामा माओवादी र समाजवादी एकताबीच गठन भएको नेपाली कम्युनिस्ट पार्टीको निकै पछि छ । २०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दैलेख–१ मा माओवादीले २ हजार ६ सय ४५ समानुपातिक मत प्राप्त गरेको थियो भने समाजवादीले ३ हजार १ सय ६६ मत पाएको थियो । एकता पछि बनेको नेपाली कम्युनिस्ट पार्टीको दैलेखमा समानुपातिक तर्फको मत पाँच हजार ८ सय ११ मात्र हो ।
काँग्रेसलाई सहज
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचन कम्युनिस्टलाई भन्दा काँग्रेसलाई दैलेखमा सहज हुने देखिन्छ । विगतका वर्षदेखि दैलेखमा एमाले आफ्नो प्रभाव जमाउन सक्षम दल हो । तर, एमाले फुटको प्रभावले उत् दललाई यस पाली समेत आगामी निर्वाचनमा जित हासिल गर्न सहज हुने देखिदैन् । बिगठित प्रतिनिधि सभाका सदस्य अम्मर बहादुर थापा नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचनमा सरिक भए उनले एमालेको केही प्रतिशत मत प्रभावित गर्न सक्छन् । उनी एमालेका पूर्व प्रभावशाली नेता हुन् ।
एमालेको मत प्रभावित पारेर थापाले भने नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचन जित्ने देखिदैन् । तर, उनले प्रभावित गर्ने मतले एमालेले जित हात नपार्न सक्छ । थापा नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचनमा सहभागी भएको खण्डमा एमाले÷काँग्रेसको प्रतिस्पर्धामा आउन नसक्ने बलियो तथ्य उनी रहेको दलले यस अघि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दैलेख–१ बाट प्राप्त गरेको समानुपातिक मतले देखाउँछ ।
गुटलाई मिलाएर आगामी निर्वाचनमा सरिक भए काँग्रेसले दैलेखमा आफ्नो पुरानो विरासत फर्काउन सक्ने सम्भावना छ । तर, उत् पार्टीमा रहकोे उन्नत लोकतन्त्रले विगतका वर्षदेखि निर्वाचनमा पराजय भोग्दै आएको छ । २०७० सालदेखि दैलेख–१ बाट काँग्रेसले सङ्घीय संसद्मा आफ्नो दलबाट प्रतिनिधि पठाउन पाएको छैन । विगतमा भएका दलिए गठबन्धनको प्रभाव र काँग्रेस भित्रको आन्तरिक गुटले निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्दै आएको हो ।
यस अघिको निर्वाचनमा गठबन्धनबाट दैलेख–१ मा समाजवादीका अम्मर बहादुर थापा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरेका हुन् । यस्तै दैलेख–२ बाट काँग्रेसका दिक्पाल कुमार शाही निर्वाचित भएका थिए । शाहीले एमालेका लक्ष्मी प्रसाद पोखरेललाई पराजित गरेका थिए । २०७९ मा दशकौँ पछि एमालेले यहाँका दुई वटै निर्वाचन क्षेत्रमा आफ्नो विरासत गुमाएको थियो । एमालेले विरासत गुमाउनुमा तत्कालीन अवस्थामा पार्टी फुटको प्रत्यक्ष प्रभाव परेको विश्लेषण गरिन्छ ।
दलका आ–आफ्नै दाबी
दैलेखमा क्रियाशील रहेकामध्ये प्रमुख तीन दल (एमाले), काँग्रेस र नेकपाले आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गर्ने दाबी गर्दै आएका छन् । पछिल्ला वर्षहरूमा जिल्लामा (एमाले)को सङ्गठन विस्तार र सङ्गठित सदस्य वृद्धिका आधारमा पनि आफ्नो पार्टीले दैलेखमा पुरानो विरासत कायम राख्दैले यहाँका दुई वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार विजयी हुने (एमाले) दैलेखका अध्यक्ष सूर्य बहादुर शाहीले बताए ।
यहाँका ११ वटा पालिका र ९० वटा वडा हुँदै टोलसम्म पार्टीको सङ्गठन बलियो रहेकाले तोकिएको मितिमा निर्वाचन भए प्रतिनिधि सभातर्फका यहाँका दुई वटै क्षेत्रमा (एमाले)ले जित हात पार्नेमा शाहीको भनाई छ । ‘एमालेले निर्वाचन जित्ने भनेको सङ्गठनको बलमा हो । अन्य पार्टीको तुलनामा दैलेखमा (एमाले)को सङ्गठन बलियो छ । (एमाले)ले अघि सारेका नीति तथा कार्यक्रमले समेत जनताले (एमाले)को सूर्य चिन्हमा मतदान गर्छन् ।,’ अध्यक्ष शाहीले भने ।
दैलेखमा (एमाले)का सङ्गठित सदस्यको सङ्ख्या दश हजार २ सय ४९ रहेको जनाइन्छ । (एमाले) दैलेखमा अन्य पार्टीको जस्तो आन्तरिक विवाद नरहेकाले विगतको निर्वाचन भन्दा फागुन २१ मा हुने निर्वाचनमा एमालेको मत बढ्ने आकलन गरिन्छ । अध्यक्ष शाहीले भने, ‘एमालेले मुलुकको विकास र समृद्धिका लागि उल्लेख्य काम गरेको छ । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणदेखि मुलुकमा अन्य ठुला विकासे काम एमाले सरकारका पालामा भएका हुन् । विकासे गतिको नेतृत्व केपी शर्मा आलीले गर्नुभएको हो ।,’
२०७९ मा सम्पन्न आम निर्वाचनमा पाँच दलिए मोर्चा एक भएर निर्वाचनमा सहभागी हुँदा समेत एमाले सामान्य मत अन्तरले विजयी हासिल गर्न नसकेको बताउँदै अध्यक्ष शाहीले दलगत हिसाबले एक्ला–एक्लै आगामी निर्वाचनमा सहभागी भए (एमाले) दैलेखका दुई वटै निर्वाचन क्षेत्रमा पहिलो पार्टी हुने विश्वास व्यक्त गरे । ‘पार्टी एक ढिक्का छ । एमालेप्रति जनताको विश्वास छ । आगामी निर्वाचनमा हामी पहिलो दल हुन्छौँ ।,’ अध्यक्ष शाहीले भने ।
२०७० सालदेखि दैलेख–१ बाट प्रतिनिधि सभामा आफ्नो दलबाट प्रतिनिधि पठाउन नपाएको काँग्रेस फागुन २१ को निर्वाचनमा यहाँका दुई वटै निर्वाचन क्षेत्रबाट आफ्नो पार्टीले अघि सारेका उम्मेदवार विजयी गराउने गरी चुनावी अभियानमा होमिएको छ । समृद्ध मुलुक निर्माणमा काँग्रेसले जनताका निम्ति गर्दै आएको कामका आधारमा आगामी निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारले यहाँका दुई वटै निर्वाचन क्षेत्रमा विजयी हासिल गर्ने काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले बताए ।
काँग्रेस दैलेखमा ९ हजार बढी क्रियाशील सदस्य रहेको जनाइन्छ । पछिल्ला वर्षहरूमा दैलेखमा काँग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको सभापति रेग्मीले बताए । ‘काँग्रेस दैलेखमा क्रियाशील सदस्यता लिनेको सङ्ख्या तपिँदै गएको छ । सङ्गठन मजबुत छ । पार्टीलाई एक ढिक्का बनाएर अघि बढेका छौँ । आफूले सङ्घीय संसद्मा टिकट पाए यहाँका जनताको ठुलो सहानुभूति रहन्छ । जनताको हितमा काँग्रेसले गरेका काम उल्लेख्य छन् ।,’ सभापति रेग्मीले भने ।
२०७० सालदेखि काँग्रेसले दैलेख–१ मा गुमाएको विरासत फर्काउने गरी आफूले पार्टी भित्रका सबै नेता तथा कार्यकर्तालाई एक बनाएको सभापति रेग्मीले बताए । उनले भने, ‘विगतमा भएका गठबन्धनका कारण काँग्रेसले दैलेख–१ मा दुई पटक हाम्रो पार्टीले उम्मेदवार उठाउन पाएन । यस पटक जनताको पूर्ण सहानुभूति रहने पाएका छौँ । दैलेख–२ अघिल्लो निर्वाचनको जितलाई सुरक्षित गर्ने गरी अघि बढ्छौँ ।,’
यता नेपाली कम्युनिस्ट पार्टीले नीतिका आधारमा आगामी निर्वाचनमा दलहरू जनताबाट अनुबन्धित हुने भन्दै जिल्लामा निर्वाचन केन्द्रित गतिविधिलाई बढवा दिँदै आएको छ । विगतमा जसको नीति उसको नेतृत्व नहुँदा मुलुकमा सुशासन कायम हुन नसकेको उत् पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर कटुवालले बताए । माओवादी र समाजवादीको एकता पछि निर्माण भएको नेकपामा जनताको आकर्षण बढ्दै गएको उनले बताए ।
उनले विगतमा माओवादी आन्दोलनले स्थापित गरेका जनताका मुद्दालाई कार्यान्वयन गर्न दैलेखि जनताले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई मतदान गरी मुलुकमा सुशासन कायम लगाएतका अन्य जनहित काम गर्न मद्दत गर्ने बताए । ‘विगतमा माओवादीले सुशासनका क्षेत्रमा ठुला काम गरेको छ । जनताले हाम्रा मुद्दालाई आत्मसात् गर्दै मत दिन्छन् । पार्टीलाई एक बनाएर अघि बढेका छौँ । मुलुकको मुहार फेर्न जनताले मत बदल्नु आवश्यक छ ।,’ केन्द्रीय सदस्य कटुवालले भने ।
आगामी निर्वाचनमा यहाँ काँग्रेस दशक अघि गुमेको आफ्नो विरासत फर्काउने दाउमा रहेको देखिन्छ भने एमाले आफ्नो मतलाई सुरक्षित गर्दै पार्टीको विरासतलाई कायम राख्न अघि बढेको पाइन्छ । माओवादी र समाजवादी एकता पछि गठन भएको नेकपाले अन्य दलका रुष्ट कार्यकर्तालाई पार्टीमा समावेश गरेर निर्वाचन जित्ने दाउमा रहेको देखिन्छ । यस अघि पटक–पटक सम्पन्न भएका निर्वाचनमा दलहरूले प्राप्त गरेको मतलाई हेर्दा दैलेखमा एमाले÷काँग्रेसको दुई पक्षीय प्रतिस्पर्धा हुने अवस्था छ ।

सूर्य बहादुर शाही
अध्यक्ष, नेकपा एमाले, दैलेख
‘सबै पालिका र ९० वटा वडा हुँदै टोलसम्म पार्टीको सङ्गठन बलियो रहेको छ । एमालेले निर्वाचन जित्ने सङ्गठनको बलमा हो । अन्य पार्टीको तुलनामा हाम्रो पार्टीको सङ्गठन बलियो छ । एमालेले अघि सारेका नीतिका कारण जनताले एमालेको सूर्य चिन्हमा मतदान गर्छन् । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणदेखि मुलुकमा अन्य ठुला विकासे काम एमाले सरकारका पालामा भएका हुन् । विकासे गतिको नेतृत्व केपी शर्मा आलीले गर्नुभएको हो । दलगत हिसाबले एक्ला–एक्लै आगामी निर्वाचनमा सहभागी भए एमाले दैलेखका दुई वटै निर्वाचन क्षेत्रमा पहिलो पार्टी हुन्छ ।’

मणिराम रेग्मी
सभापति, नेपाली काँग्रेस, दैलेख
‘काँग्रेस दैलेखमा ९ हजार बढी क्रियाशील सदस्य रहेका छन् । पछिल्ला वर्षहरूमा काँग्रेसप्रति जनताको आकर्षण बढ्दो छ । सङ्गठन मजबुत छ । पार्टीलाई एक ढिक्का बनाएर अघि बढेका छौँ । आफूले सङ्घीय संसद्का लागि टिकट पाए यहाँका जनताको ठुलो सहानुभूति रहन्छ । काँग्रेस मुलुकको विकास र जनताको हितका लागि विगतदेखि काम गर्दै आएको पार्टी हो ।’

प्रेम बहादुर कटुवाल
केन्द्रीय सदस्य, नेपाली कम्युनिस्ट पार्टी, दैलेख
‘जसको नीति उसको नेतृत्व नहुँदा मुलुकमा सुशासन कायम हुन सकेन । माओवादी आन्दोलनले स्थापित गरेका मुद्दालाई कार्यान्वयन गर्न दैलेखि जनताले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई मतदान गरी सुशासन कायम र मुलुकको विकासका लागि मद्दत गर्छन् । विगतमा माओवादीले सुशासनका क्षेत्रमा ठुला काम गरेको छ । जनताले हाम्रा मुद्दालाई आत्मसात् गर्नेमा विश्वस्त छौँ । राष्ट्रको अवस्था फेनै जनताले मत बदल्न जरुरी छ ।’






